
मंसिर ७, दैलेख
नेपाली काँग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा दैलेखको निर्वाचन क्षेत्र नं. १ बाट पौडेल निकटका दशरथ खड्काको प्यानलै विजय भएको छ ।
सभापतिमा निर्वाचित खड्काले ४ सय ७० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नगेन्द्र बहादुर मल्लले ३ सय १० मत प्राप्त गरेका थिए । पराजित नगेन्द्र मल्ल डुँगेश्वर गाउँपालिकाका अध्यक्ष हुन् ।
क्षेत्रीय कार्यसमितिको सचिवमा प्रकाश न्यौपाने र विनोद कुमार गुरुङ निर्वाचित भएका छन् भने सहसचिवमा कृष्ण कुमार दाहाल र सीताराम थापा निर्वाचित भएका छन् ।
यस्तै, सदस्यमा कर्ण बहादुर शाही, टेक बहादुर भण्डारी, युवराज रेग्मी, मान कुमारी चौधरी, अनु राना, गोपाल सुनार, अस्मिता विश्वकर्मा, महेन्द्र राना, गणेश बहादुर शाही र डम्बर बहादुर शाही निर्वाचित भएका छन् । सबै पौडेल पक्षका हुन् ।
महाधिवेशन प्रतिनिधिमा विजयी मध्ये २४ पौडेल १ देउवा

केन्द्रीय राजनीतिमा विशेष मानिएको महाधिवेशन प्रतिनिधिमा पनि दैलेखको क्षेत्र नं. १ पौडेल पक्षले वर्चस्व कायम गरेको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मणिराम रेग्मीले सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन् । उनको मत ५१९ रहेको छ , त्यस्तै गणेश खड्काले ४८९ मत, कृष्ण कुमार बिसीले ४७८ मत, टेक कटुवालले ४३२, गणेश उपाध्यायले ४०८, मिना थापाले ३९७, उदय न्यौपानेले ३६९, हरि रानाले ३६१, खगेन्द्र सुनारले ३४९ र कर्ण बहादुर शाहीले ३३४ मत ल्याएर विजयी भएका छन् ।
विजयी भएका मध्ये मिना थापा देउवा निकट हुन् भने बाँकी सबै संस्थापन इतर (पौडेल निकट) हुन् ।
महाधिवेशन प्रतिनिधिमा महिलातर्फ वासना थापाले ५८४ मत ल्याएकी छन् भने, निर्मला खड्काले ५४१, मिना खड्काले ४३९ र दिपा बिसी ४३३ मत निर्वाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधि खस आर्यतर्फ पदम बहादुर मल्लले ३८२, भक्त बहादुर भण्डारीले २७८ र भूपेन्द्र शाहीले ४२३ मत ल्याएर विजय भएका छन् । खस आर्य महिला तर्फ कमला चन्दले ५०५, कृष्ण कुमारी चन्दले ४२५ र मञ्जु कुमारी शर्मा पाण्डेले ४५० निर्वाचित भएका छन् ।
जनजाति तर्फ लक्ष्मण गुरुङले ४८६ र करिष्मा सिजाली मगरले ४३० मत ल्याएर विजयी भएका छन् । दलित तर्फ हिक्मत बहादुर विश्वकर्माले ४२० र पशुपति सुनारले ३९८ मत ल्याएका छन् । अपाङ्गतर्फ गणेश बहादुर बोगटीले ५११ मत ल्याएर विजय भएका छन् ।
निकै तडक भडकका साथ सम्पन्न क्षेत्रीय र महाधिवेशन प्रतिनिधिको चुनावले आम चुनावको झझल्को दिएको छ ।










